सिगासको दोगाड लघु जलविद्युत आयोजनामा भ्रष्टाचार, ९ लाख रुपैँया हिनामिना

वडाध्यक्षनै उपभोक्ता समितिको बचाउमा

शुक्रबार, ०९ असोज २०७७    टेक सिँह धामी



सिगासको दोगाड लघु जलविद्युत आयोजनामा भ्रष्टाचार, ९ लाख रुपैँया हिनामिना
तस्विर: दोगाड लघु जलविद्युत आयोजना

वैतडी, असोज ०९​। 

वैतडीको सिगास गाउँपालिकास्थित दोगाड लघु जलविद्युत आयोजना निर्माणका क्रममा उपभोक्ता समितिबाटै व्यापक भ्रष्टाचार भएको पाइएको छ। गत आर्थिक वर्ष ०७६/०७७ मा उपभोक्ता समितिका पदाधिकारीहरुलेनै ९ लाख रुपैँया हिनामिना गरेको पाइएको हो।

उनीहरुलाई वडा कार्यालयले कारवाही गर्नुको साटो हिनामिना भएको रकम दाखिला गर्न पत्र काटेर उन्मुक्ति दिन खोजेको छ। लघु जलविद्युत आयोजनाको नहर निर्माणको काम अन्तिम चरणमा पुगेपनि सन्तोषजनक नभएको र अध्यक्ष, सचिव तथा कोषाध्यक्षलेनै आर्थिक हिनामिना गरेको वडा कार्यालयले जनाएको छ। वडा कार्यालयले उपभोक्ता समिति अध्यक्ष गंगासिंह धामी, सचिव डम्मरी साउँद र कोषाध्यक्ष गगन विकले ९ लाख रुपैयाँ व्यक्तिगत रुपमा खर्च गरेको भन्दै उक्त रकम वडामा दाखिला गर्न पत्र काटेको छ। ‘अध्यक्ष धामी, कोषाध्यक्ष विक र सचिव साउँद भएको खाताबाट व्यक्तिगत खर्च टारेको सुन्न आएकाले उक्त व्यक्तिसँग भएको पैसा वडा कार्यालयमा दाखिला गरिदिन हुन जानकारी गरिन्छ,’ वडाध्यक्ष लक्ष्मी चन्द द्धारा लिखित पत्रमा उल्लेख छ, ‘दोगाड लघु जलविद्युत आयोजनाको उपभोक्त समुहको नाममा ९ लाख बेरुजु आएको हुँदा खातामा जम्मा गर्न जानकारी गरिन्छ।’

उक्त जलविद्युत आयोजना निर्माणको काम आर्थिक वर्ष ०७४÷०७५ देखि सुरु भएको थियोे। गाउँपालिकाले पहिलो वर्ष १० लाख, दोस्रो वर्ष १९ लाख र चालु आर्थिक वर्षमा १ करोड वजेट छुट्याएको छ। गत आर्थिक वर्षको वजेटमध्ये ९ लाख रुपैयाँ बेरुजु आएको उपभोक्ता समितिका अध्यक्ष धामीले बताए। उक्त रकम उपभोक्ता समितिकै पदाधिकारीहरुसँग रहेको उनको भनाई छ। ‘केही हामीले कागजात मिलाउन नसकेर बेरुजु आएको हो,’ उनले भने, ‘केही पदाधिकारीहरुसँगै छ।’

यसवर्ष पावर हाउसदेखि अन्य संरचना निर्माणको लागि १ करोड वजेट आएको छ। ९ लाख रुपैयाँ व्यक्तिगत रुपमा खर्च गर्ने उपभोक्ता समितिका पदाधिकारीहरुलाई वडाले समेत बचाउन खोजेको छ। वडा कार्यालयले उनीहरुलाई कारवाही गर्नुको साटो रकम दाखिला गरेर उन्मुक्ति दिन खोजेको देखिएको छ। उपभोक्ता समितिका पदाधिकारीले ज्याला समेत घटाएर दिएको स्थानीय बताउछन्।

प्रतिकृया दिनुहोस