सुदूरपश्चिमका थप ७९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७ हजार नजिक पुग्यो

हालसम्म १५ जना संक्रमितको मृत्यु

बुधबार, ०७ असोज २०७७    क्यापीटल संवाददाता



सुदूरपश्चिमका थप ७९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७ हजार नजिक पुग्यो
फाइल तस्विर

धनगढी, असोज ०७।

सुदूरपश्चिमका थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा पछिल्लो २४ घण्टामा सात सय ५३ जनाको कोरोना परीक्षण भएकोमा ७९ जनामा संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा चार सय ३८ जनाको कोरोना परीक्षण गरिएकोमा बुधवार ३६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। 

धनगढी उप–महानगरपालिका वडा नम्वर २ का ८ जना र धनगढी उप–महानगरपालिका वडा नम्वर १३ का ८ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै धनगढीकै वडा नम्वर १, ३ र ५ का दुई÷दुई जना, वडा नम्वर ४ , ११, १४ र १८ का एक/एक जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले बताए। कैलालीको गोदावरी नगरपालिकाका ८ जना, भजनीका एक र कञ्चनपुरको कृष्णपुरका एक जनामा पनि कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। 

उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। एक सय ४३ जनाको कोरोना परीक्षण भएकोमा अछाम जिल्लाको तुर्माखाद गाउँपालिकाका ८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका इन्चार्ज इश्वरी प्रशाद भूषालले बताए। 

यस्तै जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ७२ जनाको कोरोना परीक्षण भएकोमा ३५ जनामा संक्रमण पुष्टि भएको छ। डोटीको आदर्श गाउँपालिकाका १३, दिपायल सिलगढाीका चार, अछामको रामारोशनका १६ र मेल्लेखका दुई जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिए।

सुदूरपश्चिममा हालसम्म कोरोना संक्रमितको संख्या सात हजार नजिक पुगेको छ भने संक्रमण पुष्टि भएका झण्डै ५ हजार ८ सय जनाले कोरोना जितेका छन्। हालसम्म १५ जना संक्रमितको मृत्यु भईसकेको छ।

प्रतिकृया दिनुहोस