छोरालाई कलेजो दान गर्ने महेशको जीवनमा आधारित ‘जिन्दगी’ सार्वजनिक (भिडियो)

गायक निशान भट्टराईको  आवाजमा रहेको गीत निकै  मार्मिक छ

आइतबार, २१ भदौ २०७७    Capital Live News



छोरालाई कलेजो दान गर्ने महेशको जीवनमा आधारित ‘जिन्दगी’ सार्वजनिक (भिडियो)
तस्विरः भिडियोबाट

धनगढी, भदौ २१ ।
बैतडीका दुई महिने शिशु शिवांश अवस्थीलाई कलेजो दान गर्ने बुवा महेश अवस्थीको वास्तविक जीवन कथामा आधारित अत्यन्तै मार्मिक गीत आइतबार ‘जिन्दगी’ सार्वजनिक भएको छ।  गायक निशान भट्टराईको समधुर आवाज रहेको गीतमा गायिका तथा संगीतकार कमला सापकोटाको शब्द, संगीत रहेको छ। उक्त गीतमा संगीत संयोजन महाराज थापाले गरेका छन्। बैतडीस्थित रेडियो निङ्गलाशैनीका प्रबन्ध निर्देशक महेश अवस्थीका छोरा शिवांशको जन्मेको १४औँ दिनदेखि कलेजोमा खराबी आइ त्रिवि शिक्षण अस्पताल काठमाडौंको १ महिना बढी आइसियूको उपचार पछि निको नभएपछि भारतको चेन्नाइ रेफर गरिएको थियो।

चेन्नाइको रेला अस्पतालमा भर्ना गरेपछि कलेजो खराब भइसकेको र प्रत्यारोपण गर्नुपर्ने भनेपछि बुवा अवस्थीले छोरालाइ कलेजो दान गरेर विभिन्न कठिनाइ पार गर्दै छोरा बचाएको समाचार निकै चर्चामा आएको थियो। घटनाको बारेमा थाहा पाएपछि नेपाली समाजलाई प्रेरणा दिने खालको वास्तविक घटना भएकोले गीत तयार पार्न गायिका सापकोटाले पहल तथा अगुवाइ गरेका हुन।

‘जिन्दगी’ गीतलाइ अहिलेका चर्चित निर्देशक युवराज वाइबाले छायांकन गरेका छन्। निर्देशक वाइबा भन्छन् “कलेजो काटेर दिने ति महान पिताको वास्तविक घटनालाइ भिडियो मार्फत तपाइहरू माझ लिएका हौ,अहिले सम्म धेरै काम गरियो तर यो हाम्रो लागि फरक काम हो, सधै भरि पैसा मात्र पनि हेर्नु हुदैन भन्ने हिसावले अवस्थी परिवारलाइ थोरै भएपनि खुसी दिनको लागि हामी कलाकारहरूले कोरोनाको कहरको बेला विभिन्न चुनौती मोल्दै, निःशुल्क यो गित तयार पारेका हौं।” 

भिडियोमा  निर्मल न्यौपाने र रेखा घिमिरेले निकै भावुक बनाउने अभिनय गरेका छन। “जिन्दगी” युट्युबमा राखेपछि आउने रोयल्टी शिवांश अवस्थीको उपचारमा खर्च गर्ने कलाकारहरूले  बताएका छन। गायक भट्टराई भन्छन “ हामीले “जिन्दगी” गीतलाइ मेहेनत गरेर सकेसम्म राम्रो बनाउने प्रयास गरेका छौ, म आफै पनि  स्टुडियोमा गाँउदा गाउदै निकै भावुक  भए सबै दर्शकहरुले मन पराइदिनुहुन्छ भन्ने आशा छ ।”


प्रतिकृया दिनुहोस