ज्वरोका बिरामी नबोक्ने एम्बुलेन्स भाडामा यात्रु बोक्दै

शनिबार, २२ चैत २०७६    Capital Live News



ज्वरोका बिरामी नबोक्ने एम्बुलेन्स भाडामा यात्रु बोक्दै

कालिकोट, चैत २२ ।
ज्वरोका बिरामी बोक्न नमान्ने अस्पतालको एम्बुलेन्सले भाडामा यात्रु बोक्ने गरेको छ । सामान्य ज्वरो र रुघाखोकीका बिरामी बोक्न नमान्ने जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटको हरियो अस्थायी नं. प्लेटको एम्बुलेन्सले भाडामा यात्रु बोक्ने गरेको हो । 

लकडाउनको समयमा अन्यसवारी साधन चल्ने नभएकाले मौकाको फाइदा उठाउँदै एम्बुलेन्सले यात्रु बोक्ने गरेको छ । बिहीबार राति जिल्ला स्वास्थ्य सेवा कार्यालयको एम्बुलेन्सले सुर्खेतको वीरेन्द्रनगरबाट ७ जना यात्रु बोकेर कालिकोट ल्याएको छ । बुधबार रति कालिकोटबाट आएको एम्बुलेन्सले सुर्खेतको वीरेन्द्रनगरबाट ७ जना यात्रुलाई ४ हजारका दरले भाडा लिएर कालिकोट ल्याएको यात्रुले जानकारी दिएका छन्।

 

सुर्खेतबाट एम्बुलेन्समा यात्री बनेर आएका रास्कोट नगरपालिका-६ का सनेश शाहीले ज्वरो आएको छैन भने तपाईलाई लैजान सकिन्छ भनी ड्राइभरले भनेपछि आफू बिहीबार राति कालिकोट पुगेको बताए । आफूले एम्बुलेन्स चालकलाई ४ हजार भाडा तिरेको उनले जानकारी दिए ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले एम्बुलेन्सले भाडामा यात्रु बोकेको विषयमा गुनासो आएको र सोधपुछ गरिरहेको बताए । ‘यसबारे मलाई पूरा जानकारी छैन। गुनासो आएको छ।’ महतले भने( ‘पुष्टि भए तत्काल कारवाही प्रक्रिया अगाडी बढाउछौँ । 

गत शनिबार मात्र उक्त एम्बुलेन्सले कालिकोट प्रदेश सभा क का सांसद कुर्मराज शाही लगायतको टोलीलाई बोकेर कालिकोट ल्याएको थियो। एम्बुलेन्स चालक रबिन खड्काले आफूले सुर्खेतबाट तीन जना यात्रुलाई ल्याएको स्वीकार गरे । उनले भने, ‘नेपाली कांग्रेसका पार्टी प्रवक्ता नगेन्द्र बिष्ट सहित अरु दुई जना यात्रु थिए। एक अटो चालक हुन । एक जना स्थानिय हुन। अरुको नाम थाहा भएन्।’ कांग्रेस प्रवक्ता बिष्टले भाडा नदिएको र अरु दुई जनाले १२∕१२ सय रुपैया दिएका थिए । चालक खड्काले बताए । ‘मैले भाडा मागेको होइन। आफै मेरो सुत्ने कोठामा आएर भाडा दिएर गए ।’ अन्नपुर्ण पोष्ट 

प्रतिकृया दिनुहोस