कञ्चनपुर दम्पती हत्या प्रकरणः मृतकको शव पोष्टमार्टमका लागि महाकाली अस्पताल लगियो

प्रहरीका अनुसार उनीहरुको हत्या भएको आशंका गरिएको छ ।

शुक्रबार, १६ फागुन २०७६    Capital Live News



कञ्चनपुर दम्पती हत्या प्रकरणः मृतकको शव पोष्टमार्टमका लागि महाकाली अस्पताल लगियो

कञ्चनपुर, फागुन १६ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११, कलुवापुरमा धारिलो हतियार प्रयोग गरी एक दम्पत्तीको हत्या भएको छ । कलुवापुरका ५२ वर्षीय जयलाल भण्डारी र उनकी पत्नी धनादेवीको धारिलो हतियार प्रयोग गरेर हत्या भएको हो । जयलालको शव कोठामा र धनादेवीको शव भान्सामा फेला परेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार भण्डारीको घाँटी रेटेको अवस्थामा र धनादेवीको टाउकोमा सिलौटोको लोहोरेले प्रहारबाट गहिरो घाउचोट लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । 


शुक्लाफाँटा नगरपालिका११ स्थित आफ्नै घरमा ५२ वर्षीय जयलाल भण्डारी र २२ वर्षीय धनादेवी भण्डारी मृत अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताए । श्रीमान र श्रीमती दुवै मृत भेटिएको घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको हत्या भएको आशंका गरिएको छ । 

 

शुक्लाफाँटा नगरपालिका ११ स्थित आफ्नै घरको भान्सा कोठामा श्रीमती र कोठाको पलङमा श्रीमानको मृत शव भेटिएको हो । ‘घटना शंकास्पद देखिन्छ, हत्या हो कि भन्ने कोणबाट अनुसन्धान गर्दै छौँ’ ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले भने, ‘धनगढीबाट तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान गर्दै छौँ । घटना वुधवार राती भएपनि बिहीबार दिउँसो मात्रै पत्ता लागेको थियो ।   ‘अनुसन्धान घटनास्थल केन्द्रित’ घटनास्थल केन्द्रित गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

मृतकहरुको घाँटी तथा टाउकोमा चोट भएकाले घटना शंकास्पद रहेको बताउँदै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी मुकुन्द मरासिनीले अनुसन्धान जारी रहेको बताए । ‘अहिले नै यस्तो हो भन्न सकिने अवस्था छैन, हामीले सबै कुरा अध्ययन गर्दैछौँ, घटनास्थललाई केन्द्रीत गरेर काम गर्दैछौँ’, एसपी मरासिनीले भने, ‘केही सबुत नष्ट नहोस् भन्ने हिसाबले क्राइम सिनलाई नियन्त्रणमा लिएका छौँ, शुक्रबार पनि यसमा काम गछौँ ।’ शंकास्पद कुराहरु संकलन गरिरहेको उनले बताए । 


शव पोष्टमार्टमका लागि महाकाली अस्पताल लगिएको छ । आफन्तहरु नपुगेको जनाउँदै उनीहरुबाट पनि केही कुरा खुल्ने प्रहरीले जनाएको छ । हत्या हो कि भन्ने कोणबाट अनुसन्धान भइरहेकोे छ । 

 

कञ्चनपुरका प्रहरी प्रमुख मुकुन्द मरासिनीले स्वयं घटना स्थल पुगेर घटनावारे प्रारम्भिक अनुसन्धान गरेका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरज कार्कीले घटना बारे थप अनुसन्धान भईरहेको बताए । कहिले के कति कारणबाट घटना घटेको विषयमा अनुसनधान भईरहेको उनले बताए ।


प्रतिकृया दिनुहोस