फौजदारी अपराधको अभियोगमा कैलालीका नारदमुनि राना र रेशमलाल चौधरीसहित ४ सांसद मुछिए

हत्या आरोपमा प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता मोहम्मद अफताव आलम पक्राउ परेसँगै बहालवाला सांसदको संख्या ४ पुगेको छ ।

सोमबार, २७ असोज २०७६    Capital Live News



फौजदारी अपराधको अभियोगमा कैलालीका नारदमुनि राना र रेशमलाल चौधरीसहित ४ सांसद मुछिए

काठमाडौँ — हत्या आरोपमा प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता मोहम्मद अफताव आलम पक्राउ परेसँगै बहालवाला सांसदको संख्या ४ पुगेको छ । निवर्तमान सभामुख एवं नेकपा सांसद कृष्णबहादुर महरा बलात्कार प्रयास, नेकपाकै सांसद नारदमुनि राना रातो पासपोर्ट दुरुपयोग र राष्ट्रिय जनता पार्टीका सांसद रेशमलाल चौधरी व्यक्ति हत्याका आरोपित हुन् । कैलालीका दुई जना सासंद कैलाली निर्वाचन क्षेत्र नम्वर ५ बाट नेकपाका सांसद नारदमुनि राना रातो पासपोर्ट दुरुपयोग र राष्ट्रिय जनता पार्टीका सांसद रेशमलाल चौधरी व्यक्ति हत्याअपराधमा मुछिएका छन्। 
महरा र चौधरी निलम्बनमा परिसकेका छन् । कांग्रेस सांसद आलमविरुद्ध २०६४ चैत २७ गतेको बम विस्फोटमा परी घाइते २ नेपाली र २१ भारतीय नागरिकलाई इँटा भट्टामा लगेर जलाएको अभियोग छ । त्यस बेला हत्या गरिएका दुई नेपाली त्रिलोकप्रताप सिंह राजपूत र ओसी अख्तर मियाँ हुन् । २१ भारतीय नागरिकका सन्दर्भमा किटानी जाहेरी नपरेकाले त्यसको अनुसन्धान नै भएन । सर्वोच्चकोआदेशका आधारमा आलमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

एक साताअघि मात्रै निवर्तमान सभामुख एवं प्रमुख सत्तारूढ नेकपाका दाङ-२ बाट निर्वाचित सांसद महरा बलात्कार प्रयास अभियोगमा पक्राउ परेका छन् । संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास आरोपमा असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका महरा प्रहरी निगरानीमै थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन् । संघीय संसद् सचिवालयका अनुसार महराको सांसद पद निलम्बनमा परिसकेको छ ।

अपराध कसुरमा कारागारमा रहेका अर्का सांसद तथा राजपा नेता चौधरी कैलाली-२ बाट निर्वाचित भएका हुन् । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा १८ महिने बालक टेकबहादुर साउद र नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या प्रकरणमा चौधरीसहित ११ जनालाई २०७५ फागुन २२ गते जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला गरिसकेको छ । त्यही फैसलाका आधारमा उनी हाल सदरखोर डिल्लीबजारमा कैद भुक्तान गरिरहेका छन् । २०७४ को आमनिर्वाचनमा कैलाली-५ बाट निर्वाचित नेकपा सांसद राना २०६४ को संविधानसभा सदस्यका हैसियतमा लिएको कूटनीतिक राहदानी निर्मल बानियाँलाई बिक्री गरेको अभियोगमा विशेष अदालतबाट २०७२ साउन २६ गते दोषी ठहर भइसकेका छन् ।

कूटनीतिक राहदानी दुरुपयोग अभियोगमै विशेष अदालतबाट दोषी ठहर भएका तत्कालीन सभासदहरू गायत्री साह, बीपी यादव र शिवपुजन राय यादवविरुद्धको मुद्दा सर्वोच्चमै विचाराधीन रहेको छ । कान्तिपुर दैनिकबाट
 


प्रतिकृया दिनुहोस